काठमाडौँ। लगानी बोर्ड नेपालले दर्ता भएका ठूला परियोजनाका प्रस्तावहरूको संक्षेप सार्वजनिक गर्दै हालसम्म ५५ परियोजनाका लागि १७ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव प्राप्त भएको जनाएको छ। ऊर्जा, उत्पादन, पूर्वाधार, पर्यटन तथा सार्वजनिक सेवासहितका विभिन्न क्षेत्रका परियोजनाहरू अध्ययन तथा स्वीकृति प्रक्रियामा रहेका छन्।
ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो प्रस्ताव
लगानी बोर्डका अनुसार दर्ता भएका प्रस्तावहरू मध्ये ऊर्जा क्षेत्र अग्रस्थानमा छ। यस क्षेत्रमा मात्र करिब १३ खर्ब ३७ अर्ब १६ करोड रुपैयाँ बराबरका परियोजना प्रस्तावित छन्।
उत्पादन तथा पूर्वाधारमा पनि लगानी रुचि
उत्पादन तथा म्यानुफ्याक्चरिङ क्षेत्रमा हालसम्म २३ अर्ब ६९ करोड रुपैयाँ बराबरका लगानी प्रस्ताव दर्ता भएका छन्। बोर्डका अनुसार यो क्षेत्रमा लगानी रुचि क्रमशः बढ्दो छ। पूर्वाधार क्षेत्रमा ६४ अर्ब ९० करोड रुपैयाँ बराबरको प्रस्ताव दर्ता भएको एक महत्वपूर्ण परियोजना प्रक्रियामा रहेको छ।
पर्यटन र सार्वजनिक सेवामा मध्यम आकारका परियोजना
पर्यटन क्षेत्रमा दुई परियोजनासहित ७१ अर्ब ६३ करोड रुपैयाँ बराबरका लगानी प्रस्ताव दर्ता भएका छन्। होटल, रिसोर्ट तथा अन्य पर्यटकीय संरचना विस्तारका योजनाहरू समेटिएको बोर्डले जनाएको छ। यस्तै, सार्वजनिक सेवा (युटिलिटी) क्षेत्रमा तीन परियोजनाबाट ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको प्रस्ताव दर्ता भएको छ।
परियोजनाहरू विभिन्न चरणमा, केही अन्तिम चरणमा
लगानी बोर्डले सार्वजनिक–निजी साझेदारी (PPP) र प्रत्यक्ष वैदेशिक लगानी (FDI) मार्फत नेपालमा ठूला परियोजनालाई आकर्षित गर्ने उद्देश्यसहित कार्य अघि बढाइरहेको जनाएको छ। बोर्डका अनुसार दर्ता भएका परियोजनाहरू विभिन्न चरणमा छन्— केही परियोजना अध्ययनको अन्तिम चरणमा पुगेका छन् भने केही प्रस्ताव परियोजना लेखन तथा स्वीकृति प्रक्रियामा रहेका छन्।

































