काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पाँच दिनको हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले प्रहरीलाई दुवैमाथि हिरासतमा राखी अनुसन्धान गर्ने निर्देशन दिएका हुन्।
गत चैत १४ मा प्रहरीद्वारा पक्राउ परेका ओली र लेखक आइतबार अदालतमा पेश भएका थिए। उनीहरू विरुद्ध भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ।
गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूसहित ओली र लेखकमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। आयोगको सिफारिस अनुसार प्रहरीले उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’मा समेत अनुसन्धान गरिरहेको छ।
































