काठमाडौँ । कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा असोज ७ र ८ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले मंगलबार संशोधित नयाँ तालिका सार्वजनिक गरेको हो। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित गरिएको थियो।
नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ।
सोही दिन एक विषयका लागि परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषयका लागि परीक्षा दिने विद्यार्थीहरूले आफ्नो विषयहरूमध्ये सानो कोड भएको विषयमा परीक्षा दिनुपर्नेछ। अनिवार्य अङ्ग्रेजी र नेपाली दुवै दिने परीक्षार्थीले पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।
असोज ८ गते दुई विषयका लागि परीक्षा दिने परीक्षार्थीले ठूलो कोड भएको विषयको परीक्षा दिनुपर्नेछ। यस दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भने सञ्चालन हुने छैन। बोर्डका अनुसार दुवै दिनको परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।


































