काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सकेसम्म एकैपटक मन्त्रीहरुको टुंगो लगाएर जाने तयारी गरिएको समेत प्रवक्ता महतले बताए ।
नयाँ सरकार गठनका लागि ओलीलले शुक्रबार साँझ प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए। शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए।
एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका ओलीले आजै प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन्।





































