काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यतिबेला विभिन्न उम्मेदवार र उनीहरूका प्रतिबद्धताले आम जनताको ध्यान तानिरहेको छ।
यसैबीच काठमाडौँ क्षेत्र नम्बर ७ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वसन्त मानन्धरले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको सहरी–ग्रामीण असमानताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पूर्वाधार, यातायात र खानेपानीका समस्यालाई संघीय स्तरको नीतिसँग जोडेर समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
मानन्धरले काठमाडौँ महानगर नजिकैको सहरी भूगोलदेखि लिएर तारकेश्वर नगरपालिकाका दुर्गम बस्तीहरू, बासबारी आसपासका क्षेत्र तथा धादिङ र नुवाकोटसँग सिमाना जोडिएका स्थानहरूसम्म अझै पनि आधारभूत पूर्वाधारको अभाव रहेको बताए।
उनले भने, “काठमाडौँको सहरी क्षेत्रदेखि लिएर नगरपालिका भए पनि अत्यन्तै दुर्गम अवस्थामा रहेका ठाउँहरू हाम्रो यही भूगोलभित्र पर्छन्। बासबारीदेखि धादिङ र नुवाकोटसम्म छुने क्षेत्रहरूमा अझै विकासको न्यूनतम पहुँच पुगेको छैन। यो लज्जास्पद विषय हो।”
मानन्धरका अनुसार विशेषगरी तारकेश्वर नगरपालिकाका केही वडाहरूमा यातायातको अवस्था दयनीय छ।
“यो सिजनमा पनि हिँडडुल गर्न कठिन छ। वर्षात् लागेपछि बाटो बन्द हुने र मानिसहरू आवतजावत गर्न नसक्ने स्थिति छ।” उनले थपे, “तारकेश्वर–३ र तारकेश्वर–५ का विभिन्न ठाउँहरूमा अहिले पनि व्यवस्थित यातायातको पहुँच पुगेको छैन।”
खानेपानीको समस्या अझ जटिल रहेको उनको भनाइ छ। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजना मार्फत पानी आपूर्ति भइरहेको भए पनि क्षेत्र नम्बर ७ का कतिपय बस्तीमा स्वच्छ खानेपानीको पहुँच नपुगेको उनले उल्लेख गरे।
उनले भने, “काठमाडौँमा मेलम्चीको पानी आपूर्ति भइरहँदा पनि हाम्रो निर्वाचन क्षेत्रमा खानेपानीको पहुँच नहुँदा एकदमै समस्या रहेको छ।”
सांस्कृतिक धरोहर र पर्यटन सम्भावना
मानन्धरले आफ्नो क्षेत्र सांस्कृतिक दृष्टिले अत्यन्त धनी रहेको उल्लेख गर्दै त्यसलाई पर्यटनसँग जोडेर रोजगारी सिर्जनाको माध्यम बनाउन सकिने धारणा राखे ।
उनले भने, “संस्कृतिका हिसाबले यो भूगोल अत्यन्तै धनी छ। यदि हामीले यसलाई योजनाबद्ध रूपमा पर्यटनसँग जोड्न सक्यौं भने स्थानीय युवाहरूका लागि रोजगारीको महत्वपूर्ण आधार बन्न सक्छ।”
https://aarthikvoice.com/archives/84640
उनका अनुसार नागार्जुन नगरपालिकाका ग्रामीण क्षेत्रहरूमा पनि पूर्वाधार र सेवा–सुविधाको अभाव देखिएको छ।
उनी भन्छन् , “तारकेश्वर नगरपालिकाकै अनि नागार्जुन नगरपालिकाकै विभिन्न ग्रामीण क्षेत्रमा समस्या भएको मैले आफैंले पनि देखेर हेरेर आए।”
आत्मग्लानी र सुधारको संकल्प
आफ्नो निर्वाचन क्षेत्रको अवलोकनका क्रममा आफूले धुलाम्मे सडक, खाल्डाखुल्डी र पहुँच नपुगेका बस्ती देख्दा लाज र आत्मग्लानी महसुस गरेको मानन्धरले स्वीकार गरेका छन्।
“२१ औँ शताब्दीमा पनि यस्तो अवस्था देख्दा म आफैँलाई लाजको विषय बन्यो। धुलाम्य सडक, खाल्डाखुल्डी, पहुँच नपुगेको अवस्था देखेर आत्मग्लानी पनि भयो।” उनले भने।
उनले अब आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट गर्दै भने, “मैले यहाँका जनतालाई के संकल्प गरेको छु भने, अब हामीले यो भूगोलको न्यायका लागि केन्द्रिय नीतिसँग जोडेर यहाँका समस्यालाई समाधान गर्नुपर्छ।”
संघीय स्तरका योजनाको आवश्यकता
मानन्धरका अनुसार स्थानीय र प्रदेश तहका योजनाले मात्र यहाँका संरचनात्मक समस्याको समाधान सम्भव छैन। दीर्घकालीन पूर्वाधार विकासका लागि संघीय सरकारको प्रत्यक्ष संलग्नता आवश्यक रहेको उनको तर्क छ।
उनले आफू निर्वाचित भए संघीय संसदमार्फत आवश्यक नीति, बजेट र कार्यक्रम ल्याएर क्षेत्र नम्बर ७ को समग्र विकासमा अनवरत रूपमा खटिने प्रतिबद्धता व्यक्त गरे।
“म अनवरत खटिएर यहाँका समस्याहरू समाधान गर्ने प्रयास गर्नेछु। यो केवल चुनावी एजेण्डा होइन, मेरो दायित्व हो।” उनले भने।
समावेशी विकासको दाबी
मानन्धरले क्षेत्र नम्बर ७ भित्र सहरी र ग्रामीण क्षेत्रबीचको विकास असन्तुलन अन्त्य गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनका अनुसार काठमाडौँ महानगरसँग सिमाना जोडिएका क्षेत्रमा तुलनात्मक रूपमा सुविधा पुगे पनि सीमावर्ती तथा पहाडी भेगमा अझै आधारभूत सेवाको अभाव छ।
उनले विकासलाई समावेशी, सन्तुलित र दीगो बनाउने प्रतिबद्धता जनाउँदै पूर्वाधार विस्तार, स्वास्थ्य सुदृढीकरण, स्वच्छ खानेपानी आपूर्ति र ग्रामीण पर्यटन प्रवर्द्धनलाई प्रमुख कार्यसूचीका रूपमा अघि सारेका छन्।































