काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले गत वर्षको सोही अवधिको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपियाँ बढी राजस्व संकलन गरेको छ। यस अवधिमा महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख रुपियाँ राजस्व संकलन गरेको हो। गएको वर्षको यस अवधिमा ३ अर्ब १६ करोड ७६ लाख रुपियाँ संकलन भएको थियो।
गएको वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपियाँको लक्ष्य निर्धारण गरिएको थियो भने यस वर्ष १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ।
आन्तरिक राजस्वमा भने कमी, कारण सम्पत्ति कर समायोजन
कुल राजस्व संकलनमा वृद्धि भए तापनि चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फको संकलन भने घटेको छ। यस वर्ष १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपियाँ संकलन भएकोमा गएको वर्ष यस अवधिमा १ अर्ब ९९ लाख २ लाख ६७ हजार ६९५ रुपियाँ राजस्व संकलन भएको थियो। यो अङ्क गएको वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपियाँ कम हो।
राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार, आन्तरिक राजस्व घट्नुको मुख्य कारण सम्पत्ति कर शीर्षक हो। गत वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपियाँ संकलन भएको सम्पत्ति कर यस वर्ष सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपियाँ मात्र संकलन भएको छ। अधिकारीले स्पष्ट पारे अनुसार, गएको वर्ष सम्पत्ति करको दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने निर्णय गरिएपछि ठुलो भवन भएका करदाताको राजस्व गुणात्मक रुपमा वृद्धि भएको थियो। यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गर्यो र त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गरिएकाले सम्पत्ति कर घटेको हो।
बहाल कर असुली र व्यवसाय करमा वृद्धि
यस वर्ष बहाल कर असुलीमा भने उल्लेख्य वृद्धि भएको छ। गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपियाँ संकलन भएकोमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपियाँ संकलन भएको छ। बहाल कर बढ्नुको कारण बताउँदै अधिकारीले भने, "२०८२ जेठ २० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साविकमा संघ सरकारका आन्तरिक राजस्व कार्यालयहरूबाट उठाइँदै आएको कर महानगरपालिकामै जम्मा हुन थालेपछि यस शीर्षकमा कर बढेको हो।
यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ। गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपियाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० असुली भएको छ।
भवन नक्सा शुल्क घट्यो
भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ। गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ मा झरेको छ। सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो।

































