काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा सरकारको खर्च आम्दानी भन्दा १ खर्ब ३३ अर्ब रुपैयाँले बढी भएको छ। सरकारले यो वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म २३.९३ प्रतिशत मात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
पहिलो चार महिनामा सरकारको कुल आम्दानी ३ खर्ब ३६ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ रहेको छ भने सोही अवधिमा ४ खर्ब ७० अर्ब १० करोड ५८ लाख रुपैयाँ खर्च गरिएको छ। सरकारको वार्षिक आम्दानी लक्ष्य १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ भए पनि कात्तिक मसान्तसम्म २१.९६ प्रतिशत मात्र जुटेको छ।
गत वर्षभन्दा घाटा झनै चुलियो
गत वर्ष २०८१/८२ को सोही अवधिमा आम्दानीभन्दा खर्च ८५ अर्ब ९६ करोड रुपैयाँ बढी थियो। गत वर्षको पहिलो चार महिनामा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख आम्दानी लक्ष्य राखेकोमा २२.३६ प्रतिशत अर्थात् ३ खर्ब २९ अर्ब ५ करोड ३३ लाख रकम संकलन गरेको थियो। यस्तै, खर्चतर्फ १८ खर्ब ६० अर्ब ३० करोड लक्ष्यको २२.३१ प्रतिशत अर्थात् ४ खर्ब १५ अर्ब २ करोड २ लाख रुपैयाँ खर्च भएको थियो।
३ खर्ब बढी राजस्व संकलन
साउन–कात्तिकसम्मको अवधिमा सरकारले ३ खर्ब ३० अर्ब १६ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यसमध्ये कर राजस्व ३ खर्ब १० अर्ब ४२ करोड २ लाख, गैरकर राजस्व १९ अर्ब ७४ करोड ८७ लाख, अनुदान ३ अर्ब ५० करोड ८१ लाख र अन्य आम्दानी २ अर्ब ९९ करोड २८ लाख छ। साथै, यस वर्ष राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। पहिलो चार महिनामा वार्षिक लक्ष्यको २२.३१ प्रतिशत राजस्व उठेको कार्यालयले जनाएको छ।
पूँजीगत खर्च कमजोर
चार महिनामा सरकारको पूँजीगत खर्च ६.२८ प्रतिशतमा सीमित छ। चालु वर्षका लागि विनियोजित ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख पुँजीगत बजेटमध्ये २५ अर्ब ६२ करोड ९६ लाख रुपैयाँ मात्रै खर्च भएको छ। उता, ऋण दायित्वको साँवा तथा ब्याज तिर्ने शीर्षकमा सबैभन्दा बढी लक्ष्यको ३२.६७ प्रतिशत खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ मात्र १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख खर्च भइसकेको छ।
प्रशासनिक खर्च उच्च
तलब-भत्ता तथा प्रशासनिक खर्चतर्फ पनि चार महिनामा लक्ष्यको २७.२६ प्रतिशत खर्च भएको छ। ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ चालु खर्चमध्ये ३ खर्ब २१ अर्ब ८९ करोड २४ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।






































