काठमाडौं । क्यासिनोमा आएर दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण अनिवार्य रूपमा संकलन गरी अभिलेख राख्नुपर्ने व्यवस्था लागू गरिएको छ। पर्यटन विभागले क्यासिनो व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले क्यासिनो सञ्चालकहरूका लागि जारी गरिएको ‘निर्देशन, २०८२’ संशोधन गर्दै उक्त प्रावधान कार्यान्वयनमा ल्याएको हो।
संशोधित निर्देशनअनुसार क्यासिनोमा तोकिएको सीमा भन्दा बढी रकम खर्च गर्ने ग्राहकको स्पष्ट पहिचान, खर्चको प्रकृति र रकमसम्बन्धी विवरण संकलन गरी सुरक्षित रूपमा अभिलेख राख्नुपर्नेछ। यस्तो अभिलेख आवश्यक परेमा सम्बन्धित नियामक निकायलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
पर्यटन विभागका अनुसार यो व्यवस्था क्यासिनो कारोबारमा पारदर्शिता बढाउने, अवैध आर्थिक गतिविधि नियन्त्रण गर्ने तथा सम्पत्ति शुद्धिकरण र आतंककारी क्रियाकलापमा वित्तीय लगानी हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले लागू गरिएको हो। विभागले जारी गरेको निर्देशन तुरुन्तै लागू हुने स्पष्ट पार्दै सबै क्यासिनो व्यवसायीलाई यसलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
उक्त व्यवस्था सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ तथा पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी लागू गरिएको विभागको भनाइ छ। कानूनी दायित्वप्रति सचेत रहन र तोकिएका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न विभागले क्यासिनो व्यवसायीहरूलाई आग्रह गरेको छ।
विभागका अनुसार निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई समेत तीव्र बनाइनेछ, र उल्लंघन गर्ने क्यासिनो सञ्चालकहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।




































