काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।
तामाङका निकट मित्र रहेका घतानीका अनुसार हृदयघातका कारण उनको निधन भएको हो । तामाङकी श्रीमती र एक छोरी छन् । उनले हालै मात्र सलमान खानको एक चलचित्रमा भिलेनको रुपमा अभिनय पनि गरिरहेका थिए ।
तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।
भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको हो ।




































