काठमाडौं – भूमिव्यवस्थापन तथा अभिलेख विभागले घर–जग्गा कारोबारका लागि इजाजतपत्र लिन इच्छुक फर्म, कम्पनी वा संस्थालाई आवेदन दिने समय थप गरेको छ। अब आगामी मंसिर २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।
एक पटकमा रु ३ करोडभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म वा कम्पनीले इजाजतपत्रका लागि आवेदन दिन सक्ने व्यवस्था छ। विभागका अनुसार घर–जग्गा कारोबारलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउन तथा समग्र व्यवस्थापनलाई व्यवस्थित बनाउन यो प्रक्रिया अघि बढाइएकामा जोड दिइएको छ।
गत शुक्रबारदेखि लागू हुनेगरी म्याद थप गरिएको विभागले जनाएको छ। पहिलो चरणमा छ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा घर–जग्गा कारोबार व्यवस्थित बनाउन कम्पनी दर्ताको प्रक्रिया सुरु गरिँदैछ। यसअघि प्रकाशित सूचनामा अपेक्षाकृत कम आवेदन परेकाले म्याद थप्नुपरेको विभागले स्पष्ट पारेको छ।
यस्तै, विभागका अनुसार गत कात्तिक महिनामा घरजग्गा कारोबारबाट मात्रै रु २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व संकलन भएको थियो।

































