काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक धेरै उद्योगी तथा व्यवसायी प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रमुख राजनीतिक दलदेखि नयाँ र स्वतन्त्र उम्मेदवारसम्म व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरूले व्यापक रूपमा उम्मेदवारी दिएका छन्।
अघिल्ला निर्वाचनहरूमा व्यवसायीहरू प्रायः समानुपातिक सूचीमार्फत संसद् प्रवेश गर्ने प्रवृत्ति देखिन्थ्यो। तर पछिल्लो समय समानुपातिक प्रणालीलाई लिएर विवाद बढेपछि यसपटक धेरै व्यवसायीहरू प्रत्यक्ष जनमतमार्फत संसद् पुग्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका हुन्।
नेपाली कांग्रेसबाट :
नेपाली कांग्रेसबाट उद्योग, बैंकिङ, स्वास्थ्य, पर्यटन, निर्माण, यातायात र खाद्य उद्योगमा संलग्न व्यवसायी उम्मेदवार बनेका छन्। नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीदेखि बैंकका पूर्व अध्यक्ष, मेडिकल कलेज सञ्चालक, पर्यटन तथा म्यानपावर व्यवसायीहरू कांग्रेसको टिकटमा चुनाव लड्दै छन्।
विनोद चौधरी नवलपरासी क्षेत्र नम्बर १ बाट चुनाव लड्दै छन् । यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। निर्माण व्यवसायी मोहन प्रसाद आचार्यले पनि रसुवाबाट मनोनयन दर्ता गरेका छन् ।
नेपाली कांग्रेसबाटैे धादिङ–२ बाट उम्मेदवार बनेका रमेशप्रसाद धमला पर्यटन व्यवसायी हुन्। उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष समेत हुन्।
यस्तै काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्मा मोरङ–३ बाट कांग्रेसबाटै उम्मेदवार बनेका छन्।
नेकपा एमालेबाट :
नेकपा एमालेबाट पनि जलविद्युत्, कृषि, बैंकिङ, होटल, घरजग्गा र वैदेशिक रोजगार क्षेत्रमा लगानी गरेका व्यवसायीहरू उम्मेदवार बनेका छन्। केही उम्मेदवार यसअघि मन्त्री वा सांसद भइसकेका छन् भने कतिपय पहिलोपटक संसदीय चुनावमा होमिएका हुन्।
स्याङ्जा–१ बाट एमाले उम्मेदवार बनेका मीनप्रसाद गुरुङ मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष हुन्। कपिलवस्तु–३ बाट एमाले उम्मेदवार बनेका वीरेन्द्रप्रसाद कनौडिया चिनी उद्योग तथा बैंकिङ क्षेत्रमा संलग्न व्यवसायी हुन्।
यस्तै, झापा–४ बाट एमाले उम्मेदवार बनेका एलपी सावाँ लिम्बू वैदेशिक रोजगार व्यवसायी हुन्। उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत हुन्। नवलपुर–१ बाट एमाले उम्मेदवार बनेका भगिरथ सापकोटा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष हुन्। दोलखा बाट एमाले उम्मेदवार बनेका पार्वत गुरुङ जलविद्युत् तथा वन पैदावार सम्बन्धी व्यवसायी हुन्।
कैलाली–५ बाट एमाले उम्मेदवार बनेका प्रेम आले काठ व्यवसायसँग सम्बन्धित छन्। अछाम–१ बाट एमाले उम्मेदवार बनेका झपट बोहोरा पूर्वबैंकर तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन्।
नयाँ दल र अन्य पार्टीबाट व्यवसायी उम्मेदवार :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा–३ मा खल्तीका सह–संस्थापक अरविन्द साह उम्मेदवार बनेका छन्। काठमाडौं–९ बाट रास्वपा उम्मेदवार बनेका डीपी अर्याल म्यानपावर, पर्यटन तथा विभिन्न सेवा व्यवसायमा सक्रिय छन्।
उदयपुर–१ बाट रास्वपा उम्मेदवार बनेका पारसमणि गेलाल उद्योग क्षेत्रको प्रतिनिधित्व गर्दै आइरहेका छन् । चितवन–१ बाट रास्वपा उम्मेदवार बनेका हरि ढकाल सेयर कारोबारसँग सम्बन्धित छन्। यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाबाट उम्मेदवार बनेका आनन्दबहादुर चन्द शिक्षा क्षेत्रमा आबद्ध छन् । धनुषा–३ बाट रास्वपा उम्मेदवार बनेका मनिष झा तथ्यांक तथा डेटा व्यवसायसँग सम्बन्धित छन्।
जनमत पार्टीबाट सिरहा–४ मा उम्मेदवार बनेका वीरेन्द्रप्रसाद महतो बैंकिङ तथा हाइड्रोपावर क्षेत्रमा लगानी गर्ने व्यवसायी हुन्। नेकपाबाट धादिङ–१ मा उम्मेदवार बनेका राजेन्द्रप्रसाद पाण्डे सहकारी तथा स्वास्थ्य क्षेत्रमा लगानीकर्ता हुन्। काठमाडौं–८ बाट नेकपा उम्मेदवार बनेका सुमन सायमी कालीमाटीस्थित ‘स्विट केभ’ मिठाई पसलका सञ्चालक हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डिजिटल सेवा, रेमिटेन्स, डेटा, शिक्षा, पर्यटन र स्टार्टअप क्षेत्रमा सक्रिय व्यवसायीहरू उम्मेदवार बनेका छन्। खल्तीका सह–संस्थापकदेखि स्वतन्त्र उमेदवारका रुपमा राइड सेयरिङ कम्पनीका सञ्चालकसम्म चुनावी प्रतिस्पर्धामा देखिएका छन्।
यसपटक उम्मेदवार बनेका व्यवसायीहरूको पृष्ठभूमि हेर्दा बैंक तथा वित्तीय संस्था,स्वास्थ्य र मेडिकल शिक्षा, जलविद्युत् तथा ऊर्जा, पर्यटन, होटल र ट्राभल, म्यानपावर र वैदेशिक रोजगार, उद्योग, कृषि र निर्माण, डिजिटल सेवा तथा प्रविधि जस्ता क्षेत्रको उल्लेख्य प्रतिनिधित्व देखिन्छ।
व्यवसायीहरूको प्रत्यक्ष राजनीतिक सहभागिताले आर्थिक विकास, व्यवस्थापन क्षमता र लगानीमैत्री नीतिको अपेक्षा बढाएको छ। तर अर्कोतर्फ हित–संघर्ष, नीति निर्माणमा निजी स्वार्थ हाबी हुने जोखिम बारे बहस पनि सुरु भएको छ।
































