काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजेका लागि परिषद्को बैठक बोलाएकी हुन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। भोलि हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा तयारी, समन्वय र संवेदनशील क्षेत्रको अवस्थाबारे विस्तृत छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
बैठकमा गृह, रक्षा, अर्थ र परराष्ट्र मन्त्रालयका सम्बन्धित अधिकारीहरूका साथै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रमुखहरूले देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन अवधिमा सम्भावित सुरक्षा चुनौती, संवेदनशील मतदान केन्द्रको पहिचान, मतपत्र तथा निर्वाचन सामग्रीको सुरक्षित ढुवानी, सीमावर्ती क्षेत्रको निगरानी तथा आपत्कालीन अवस्थामा अपनाइने रणनीतिबारे समेत छलफल हुने स्रोतले जनाएको छ ।































