काठमाडौं। कर्णाली प्रदेशका अधिकांश जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेका छन् । कर्णालीका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेक बाँकी आठ जिल्लामा दुबै दलबीच चुनावी तालमेल कायम गर्ने सहमति बनेको हो ।
सहमति सम्बन्धि पत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाको अध्यक्ष परिषद् सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
हुम्ला जिल्लामा भने एमालेबाट दल फडेरा र प्रलोपाबाट जटिल कार्की उम्मेदवार बनेका छन् ।
त्यस्तै जुम्लामा एमालेका तर्फबाट शान्तिलाल महत र प्रलोपाबाट मनऋषि धिताल उम्मेदवार छन् । उनीहरूसँगै कांग्रेसका दीपबहादुर खत्री, नेपाल कम्युनिस्ट पार्टीका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, रास्वपाकी विनिता कठायत, नेकपा माओवादीका बिर्खबहादुर शाही तथा नेमकिपाका बिर्ख रावतलगायत उम्मेदवार मैदानमा छन् ।
कर्णाली प्रदेशका सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला गरी १० जिल्ला मध्ये सल्यानसहित राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ भने रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई साथ दिने निर्णय गरिएको छ ।
हुम्ला र जुम्ला बाहेक कर्णालीका अन्य सबै जिल्लामा प्रलोपाले एमालेको चुनाव चिह्नमा मतदान गर्ने सहमति भएको जनाइएको छ ।
































