काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकैपटक छ कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति सहति आवेदन दिएका छन् ।
लामो समयदेखि जारी कर्मचारी आन्दोलन टुंगिएपछि बोर्डमा आईपिओ आवेदन दिने कम्पनीहरूको संख्या तीव्र रूपमा बढेको हो। यसपटक तीन लघु बीमा कम्पनी र तीन उत्पादन–प्रशोधन समूहका कम्पनी मिलेर कुल छ कम्पनी आईपीओ पाइपलाइनमा थपिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार लघुबीमा तर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन अनुमति मागेका छन्।
ती तीनै कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबीएस क्यापिटलले पाएको छ। उत्पादन तथा प्रशोधन समूहमा पर्ने एनसी एग्रोटेक इन्डस्ट्रिज लिमिटेड, दाउन्ने एग्रो फार्म लिमिटेड र जस्मिन पेन्ट्स लिमिटेड ले समेत आईपिओका लागि बोर्डमा प्रस्ताव दर्ता गराएका छन्। यी सबैले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेका छन्।
एनसी एग्रोटेक इन्डस्ट्रिजले १८ करोड ७५ लाख रुपैयाँ बराबरका १८ लाख ७५ हजार कित्ता शेयर निष्कासनको योजना पेस गरेको छ। यसको इश्यू मेनेजर ग्लोबल आईएमई क्यापिटल रहेको छ। दाउन्ने एग्रो फार्म लिमिटेडले १२ करोड ५० लाख रुपैयाँ बराबरका १२ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको छ भने यसको शेयर निष्कासन तथा बिक्री व्यवस्थापन सिटिजन्स क्यापिटल ले गर्नेछ।
त्यस्तै, जस्मिन पेन्ट्स लिमिटेडले १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता आईपीओ निष्कासनको प्रस्ताव बोर्डमा दर्ता गरेको छ। यसको इश्यू मेनेजर सानिमा क्यापिटल छ। सेबोनका कर्मचारी आन्दोलनका कारण केही समयदेखि कम्पनीहरूले आईपीओ प्रस्ताव दर्ता गराउन सकेका थिएनन् आन्दोलन अन्त्यसँगै अब दर्ता प्रक्रिया तीव्र बन्दै गएको देखिन्छ। बोर्डले प्राप्त प्रस्तावहरूको आवश्यक समीक्षा र मूल्याङ्कन पछि क्रमिक रूपमा अनुमति प्रक्रिया अघि बढाउने जनाएको छ।

































