काठमाडौं । जेनजी आन्दोलनका घटनासम्बन्धी छानबिनका लागि गठित आयोगले आन्दोलनका क्रममा भएका क्षतिको विस्तृत विवरण माग गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको उक्त जाँचबुझ आयोगले आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था तथा व्यक्तिगत सम्पत्तिमा परेको क्षतिको यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेको हो।
आयोगले त्यसका लागि एक निश्चित ढाँचा पनि तयार पारेको छ। सो ढाँचामा सम्बन्धित संघसंस्था, राजनीतिक दल वा व्यक्तिको नाम, ठेगाना, क्षतिको विवरण, अनुमानित लागत, बीमा भएरनभएको जानकारी, साथै कैफियत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
क्षतिको विवरण तोकिएको ढाँचामा इमेल वा हुलाक मार्फत् पठाउन सकिने व्यवस्था गरिएको छ। आयोगले सम्पूर्ण सरोकारवालाहरुलाई तोकिएको समयभित्र आवश्यक विवरण पेश गर्न आग्रह गर्दै, प्राप्त सूचनाका आधारमा निष्पक्ष र पारदर्शी प्रतिवेदन तयार पार्ने जनाएको छ।






































