काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट सङ्कलन गरिएको उपचार विवरणका आधारमा घाइतेहरूको नामावली सार्वजनिक गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनका क्रममा घाइते भई उपचार गराएका व्यक्तिहरूको विवरण देशभरका ९९ वटा अस्पतालबाट सङ्कलन गरिएको हो।
प्रवक्ता बुढाथोकीले सुरुमा सबै अस्पतालबाट एकैपटक विवरण प्राप्त नभएकाले घाइतेहरूको सम्पूर्ण तथ्यांक सार्वजनिक गर्न केही ढिलाइ भएको बताए। “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिरहेका थियौँ। केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो,” उनले भने। उनका अनुसार अहिले भने सबै घाइतेहरूको विवरण सङ्कलन गरी गृह मन्त्रालय लाई पठाइसकिएको छ।
मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार विभिन्न चरणमा घाइतेहरूको तथ्यांक गृह मन्त्रालयमा पठाइएको थियो। गत असोज ३१ गते २ हजार ५२२ जना, माघ ४ गते थप ७७ जना तथा फागुन २९ गते थप ३९ जना घाइतेको विवरण पठाइएको हो।
अस्पतालअनुसार हेर्दा आन्दोलनका क्रममा सबैभन्दा धेरै घाइतेको उपचार निजामती कर्मचारी अस्पताल (नयाँ बानेश्वर) मा भएको छ, जहाँ ४५८ जना घाइतेको उपचार गरिएको थियो। त्यस्तै, नेपाल पुलिस अस्पताल मा २०३ जना, राष्ट्रिय ट्रमा सेन्टर मा १९० जना तथा त्रिवि शिक्षण अस्पताल मा १०८ जना घाइतेको उपचार भएको मन्त्रालयले जनाएको छ।
सरकारले सार्वजनिक गरेको यो विवरण आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र क्षतिपूर्तिसम्बन्धी नीतिगत निर्णयका लागि आधार बन्ने अपेक्षा गरिएको छ। साथै, मन्त्रालयले आगामी दिनमा यस्ता घटनामा घाइते हुने व्यक्तिहरूको उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको पनि जनाएको छ।































