काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई जनही १५–१५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घाइतेहरुलाई तत्काल राहत प्रदान गर्ने व्यवस्था मिलाइएको बताए।
बैठकले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति ५० अमेरिकी डलर (वा सोही बराबरको विदेशी मुद्रा) कायम हुनेगरी अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ संशोधन गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वेबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीजरल्याण्डबाट करिब २.१ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताए।
बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनःसंरचना गर्न अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारीसहित प्रकाशजङ केसी (काठमाडौं) को संयोजकत्वमा ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति–२०८२’ गठन गर्ने निर्णय पनि गरेको छ।
यसबाहेक, सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को अर्को निर्णयअनुसार, सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ (नवलपरासी) लाई नियुक्त गर्ने भएको छ।

































