काठमाडौं – गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी, तोडफोड र क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण तथा आर्थिक पुनरुत्थानका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ।
जेन–जी प्रदर्शनका क्रममा क्षति भएका भवन, संरचना र अन्य पूर्वाधार पुनःनिर्माणको लागि सरकारले यो कोष स्थापना गरेको हो। कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था र दातृ निकायलाई आग्रह गरेको थियो। कोषमा योगदान दिने सबै पक्षले आफ्नो आर्थिक सहयोग चालु आर्थिक वर्षको करयोग्य आयमा घटाउन वा खर्च कट्टी गर्न सक्ने सुविधा पाउने छन्।
कोषमा योगदान गर्न इच्छुक व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरवार शाखामा खाता खोलिएको खाता नम्बर १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सक्नेछन्। सरकारले योगदानकर्तालाई सहुलियतसहित करमा सुविधा उपलब्ध गराएर कोषमा सहयोग प्रवाह सहज बनाएको छ।
सरकारले यस कोषमार्फत भौतिक पूर्वाधार पुनःनिर्माण, प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थान र समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्य राखेको छ। आगामी दिनमा कोषमार्फत जम्मा हुने रकमको उपयोग पुनःनिर्माण कार्यको गति र प्रभावकारिता सुनिश्चित गर्न प्राथमिकतामा राखिने बताइएको छ।




































