काठमाडौँ । दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका मानव अधिकारकर्मी सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन्। प्याकुरेलले आज एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा आज औपचारिक पत्र दर्ता गराएको बताएका छन्।
‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु। यसबिच मलाई बधाई, शुभकामना दिँदै सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु,ु उनको विज्ञप्तिमा उल्लेख छ।
असार ७ गतेको मन्त्रिपरिषद्ले उनलाई दक्षिण कोरियाको राजदूत नियुक्त गरेको थियो। उक्त कुराको जानकारी आफूले सञ्चारमाध्यममार्फत पाएको समेत प्याकुरेलको भनाई छ ।
‘मैले प्रस्ट शब्दमा उल्लेख गर्नै पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत दिइएन। राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’, विज्ञप्तिमा भनिएको छ।


































