काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो ।
राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठह¥याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो । यस कुराले संकालाई अझ प्रत्सय दिंदै गयो । यससँगै हत्याकाण्डको छानमिनकालागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोकियो । जसलेगर्दा सही रुपमा अनुसंधान हुन सकेन ।
तीन सदस्यीय त्यस समितिमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल बस्न मानेनन् । सुरुमै समिति अबैधानिक समेत भयो । हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो । यस ब्यवहारलाई पनि संकास्पदरुपमा हेरियो । आखिर किन घटनाका प्रमाणहरु छोप्ने काम भए त?
हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ । यो कसरी संभव छ रु अर्को पक्ष, गोली चलाउने तत्कालिन युवराज दीपेन्द्र हो भनियो । तर, उनलाई चाहिं कस्ले र कसरी गोली हान्यो भन्ने प्रश्न पनि आजसम्म अनुत्तरित नै छ ।
तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन । त्यसलाई कतिपयले दरबार हत्याकाण्डको शृङखलाकै रुपमा आजसम्म बुझिरहेका छन् ।
परिवारकी सदस्य प्रेक्षा शाह (धिरेन्द्र शाहकी पत्नी) को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो । यस घटनालाई पनि आम मानिसले दरबार हत्याकाण्डसँग नै जोडेर बुझिरहे । समग्रमा दरबार हत्याकाण्ड रहस्यमयी हुनुमा यसको उचित छानमिन हुन नसक्नु नै हो ।
छानबिनकालागी आवश्यक विषय र घटनाहरु नष्ट गर्न तत्कालिन दरबारको शक्ति नलागेको भए आजसम्म यस घटनाले यति धेरै चर्चा नपाउन सक्थ्यो । हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काइसकेका छन् । युवराज दीपेन्द्र गोली लागी ढलेको पोखरी एकपटक पुरेर जीर्णोद्धार गरिएको छ । तर पनि भरपर्दो छानबिन भएमा दरबार हत्याकाण्डको सत्य अझै पनि उजागर हुन सक्छ । किनभने साक्षीहरु जिउँदै छन् ।
तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ। तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ। सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन ।






































