काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन आगामी सातादेखि सुरु गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनका कारण एक सातापछि धकेलिएको अनुगमन अब सुरु हुने भएको हो ।
कामपाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दूहरूको महान् पर्व बडादसैं नजिकिँदै गर्दा बजार व्यवस्थापनका लागि अनुगमन आवश्यक भएको भन्दै आगामी सातादेखि टोली परिचालन गर्ने तयारी भएको हो । आन्दोलनका कारण सरकारका सबै संयन्त्र सामान्य अवस्थामा फर्किन ढिलाइ भएकाले अनुगमन स्थगित भएको उनले बताए ।
उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा रहने बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले प्रदर्शनीमार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायतका स्थानमा अनुगमन गर्ने छ ।
महानगरले विगतमा सुपरमार्केट तथा खुद्रा पसलमा खाद्य सामग्रीको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य र गुणस्तर जाँच गर्दै आएको छ । अनुगमनका क्रममा कमजोरी भेटिए वा उपभोक्ता ठगिएका देखिए कानुनअनुसार जरिवाना र कारबाही गरिने चेतावनी पनि कामपाले दिएको छ ।
उपभोक्ताको सचेतना आवश्यक रहेको भन्दै सहायक प्रवक्ता काफ्लेले स्वच्छ, गुणस्तरीय र सुपथ मूल्यमा सामान खरिद गर्न उपभोक्ता आफैं सतर्क हुनुपर्ने बताए ।
महानगरले नियमित रूपमा अन्य समयमा पनि बजार अनुगमन गर्दै आएको छ । यस वर्ष बर्खामा पिउने पानीका करिब ३०० जार मापदण्ड विपरीत देखिएपछि नष्ट गरिएको थियो । यस्तै, उपभोक्ताको गुनासोका आधारमा होटल तथा मिठाई पसलमा कारबाही गर्दै रु दुई लाख जरिवाना गरिएको थियो ।


































