काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणमा आज काठमाडौं आउँदैछन् । राष्ट्रपतिको कार्यालयका अनुसार आज अपराह्न काठमाडौं आइपुग्ने उनलाई स्वागत गर्न राष्ट्रपति पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताईएको छ ।
मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै आज सार्वजनिक बिदा पनि दिएको छ।
साथै कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । कतारी अमिरले आजै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा आजै साँझ राजकीय भोजको आयोजना गर्नेछन्।
त्यस्तै कतारका अमिर शेख थानीले यही भोली वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।
कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी भोली वैशाख १२ गते नै अपराह्न स्वदेश प्रस्थान गर्नेछन्।






































