काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने पक्का भएको छ। उनले आज बुधबार राति ९ बजे पत्रकार सम्मेलन आयोजना गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिन निर्देशन दिएपछि मन्त्री घिसिङको कदम सार्वजनिक हुने भएको हो। प्रधानमन्त्रीले चुनावी सरकारको मर्म र आचारसंहिता स्मरण गराउँदै दलीय गतिविधिमा संलग्न रहँदै आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्ने तयारी गरेको विषयमा स्पष्टता दिन आग्रह गरेकी थिइन्। सोही सन्दर्भमा मन्त्री घिसिङले आफू आजसम्म कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नरहेको स्पष्टीकरण दिएका थिए।
तर, निर्वाचन नजिकिँदै गर्दा सरकार र मन्त्री पदमा रहनु उपयुक्त नहुने निष्कर्षसहित उनले अन्ततः राजीनामा दिने निर्णय लिएको बुझिएको छ। सत्ता र चुनावी प्रतिस्पर्धाबीचको द्वन्द्व टार्न तथा सरकारको निष्पक्ष छवि कायम राख्न यो कदम चालिएको स्रोतहरूको दाबी छ।
घिसिङ गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा नियुक्त भएका थिए। मन्त्री पद सम्हालेसँगै उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारी समेत दिइएको थियो। अल्प समयमै बहुआयामिक मन्त्रालयको नेतृत्व सम्हालेका घिसिङको राजीनामाले सरकारभित्र नयाँ राजनीतिक तरंग पैदा गरेको छ।




































