काठमाडौँ । देशभर सोमबारदेखि सरकारी सहुलियत पसल (सुपथ मूल्य पसल) सञ्चालनमा आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत यी पसल सञ्चालन गरेको हो। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुरु गरिएका पसलमा सर्वसाधारणले दैनिक उपभोग्य सामग्री आकर्षक छुटमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
कस्ता उपभोग्य वस्तुमा हुन्छ छुट ?
सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म छुटको व्यवस्था गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिने जनाएको छ। त्यस्तै, खाने तेल, आटा, पिठो र मैदामा प्रतिकिलो सात रुपैयाँ छुट दिइनेछ। जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ भने कर्णालीका रैथाने उत्पादनहरू सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा समेत प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रहरूबाट नुनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ र तेल, चिउरा, पिठो, मैदा तथा दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिने घोषणा गरेको छ। उपभोक्ताको सहज पहुँचका लागि कर्पोरेसनले देशभर न्यूनतम ४० स्थानमा पसल राख्ने तयारी गरेको छ।
४५ जिल्लामा सहुलियत पसल सञ्चालनमा
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने ४५ जिल्लाका १११ स्थानमा पसल सञ्चालन गर्ने जनाएको छ। चाडपर्वको समयमा बजारमा मूल्यवृद्धि नियन्त्रण गर्ने र सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यसहित सातै प्रदेशका शाखा, डिपो र बिक्री केन्द्रमार्फत सुविधा प्रदान गरिनेछ। यसअन्तर्गत सबैभन्दा धेरै ४२ स्थानमा कर्णाली प्रदेशमा पसल सञ्चालन हुनेछन् भने मधेश प्रदेशमा मात्र तीन स्थानमा पसल रहनेछ।
काठमाडौं उपत्यकाभित्र कहाँ छन् ?
बागमती प्रदेशमा कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाहपथ, दक्षिणकाली र ललितपुरको नख्खुमा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर रसुवाको धुन्चेमा पसल खुल्नेछ। साल्ट ट्रेडिङले भने कालीमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर सल्लाघारी, कौशलटार, काँडाघारी, महाराजगञ्ज र ललितपुर इमाडोमा पसल खोल्ने योजना गरेको छ। यसबाहेक उपत्यकाभित्र नै तीन वटा घुम्ती पसल पनि सञ्चालन गरिनेछ।
उपत्यकाबाहिर यी ठाउँमा सहुलियत पसल
उपत्यकाबाहिर साल्ट ट्रेडिङले पूर्वमा बिर्तामोड र विराटनगरदेखि मधेशका राजविराज, लहान, जनकपुर र वीरगञ्जसम्म पसल सञ्चालन गर्ने जनाएको छ। त्यस्तै बागमती प्रदेशमा त्रिशूली, हेटौंडा, नारायणगढ र धुलिखेलमा सेवा दिनेछ भने गण्डकी प्रदेशमा पोखरा र बागलुङमा पसल सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा भैरहवा, कृष्णनगर र दाङ, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा धनगढी, टीकापुर, अत्तरिया, बेलौरी, महेन्द्रनगर, दिपायल र बैतडीको पाटनमा सहुलियत पसल खुल्नेछन् ।






































