काठमाडौँ : नेपाली सेयरबजार ३.५५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म नेप्से परिसूचक २,६७५.२५ विन्दुमा कायम भएको छ। गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २,५८०.७६ विन्दुमा रहेको थियो, जसअनुसार सेयरबजार साढे ३ प्रतिशतले बढेको देखिन्छ।
धितोपत्र बजार पूँजीकरण भने ८.८६ प्रतिशतले वृद्धि भई ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिसम्म पूँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म नेप्सेमा २७६ कम्पनी सूचीकृत छन्। यसमा १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनीहरू रहेका छन्। गत वर्षको भदौमा सूचीकृत कम्पनीको संख्या २६७ थियो।
धितोपत्र बजार पुँंजीकरणको वितरण अनुसार बैंक/वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.९ प्रतिशत, जलविद्युत कम्पनी १४.९ प्रतिशत, लगानी कम्पनी ७.५ प्रतिशत, उत्पादन/प्रशोधन उद्योग ५.६ प्रतिशत, व्यापारिक संस्था ४.९ प्रतिशत, होटेल २.७ प्रतिशत र अन्य समूह ११.३ प्रतिशत रहेको छ।


































