काठमाडौँ । विभिन्न माग राख्दै भन्सार जाँचपास अवरोध गर्दै आएको भन्सार एजेन्ट महासंघ र सरकारबीचको वार्ता सहमतिमा टुंगिएको छ। बुधबार भन्सार विभागमा भएको वार्तामा महासंघका माग सम्बोधन गरिने आश्वासनपछि भन्सार एजेन्टहरू काममा फर्किएका हुन्।
महासंघले मंगलबारदेखि देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’ गर्दै आन्दोलन थालेको थियो। यसअघि शनिबारदेखि लागू भएको भन्सार ऐन, २०८२ का कतिपय प्रावधानले एजेन्टको पेसागत हक, सहज काम गर्ने वातावरण र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पुर्याउने भन्दै महासंघले जनाएको छ ।
महासंघले माग गरेको विषयहरूमा भन्सार ऐनमा भन्सार एजेन्टको नाम, दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग सम्बन्धित ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ र ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त एजेन्टबाट मात्र मालवस्तु जाँचपास हुने व्यवस्था समावेश गर्नुपर्ने थियो।
वार्तामा सहमति अनुसार, सम्बोधन हुने प्रकृतिका माग विभागरकार्यालयबाट क्रमशः कार्यान्वयन गरिनेछ भने नियमावलीमा सम्बोधन गर्नुपर्ने विषयहरू अर्थ मन्त्रालयलाई जानकारी गराइने सहमति जुटेको छ।
यसअघि महासंघ र भन्सार विभागबीच मंगलबार पनि वार्ता भएको थियो, तर पूर्ण सहमति जुटेको थिएन। विभागका महानिर्देशक श्याम घिमिरेका अनुसार, “आजको वार्तामा महासंघका माग सुनियो। विभागबाट गर्न सकिने सहजीकरण हुनेछ। दुई पक्षीय सहमतिसँगै भन्सार अवरोध खुलेको छ।”
एजेन्ट आन्दोलनका कारण जाँचपास नहुँदा सीमानाकामा सयौं गाडी थन्किएका थिए र आयात–निर्यात कार्य प्रभावित भएको थियो। वार्तामा महासंघ अध्यक्ष प्राचीनकुमार थैव र विभागका पदाधिकारीहरू सहभागी थिए।





































