काठमाडौं । प्रहरीले नागढुंगा–मुग्लिन सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेको भन्दै यात्रु र चालकलाई तत्काल यात्रा नगर्न अनुरोध गरेको छ।
काठमाडौंको मुख्य नाका नागढुंगामा तैनाथ प्रहरी टोलीले ‘माइकिङ’ गर्दै धादिङतर्फ अगाडि नबढ्न आग्रह गर्दै यात्रुलाई काठमाडौंमै फर्किन सुझाव दिएका छन्।
“धादिङका विभिन्न स्थानमा पहिरो खसेको छ र तत्काल सडक खुलाउने अवस्था छैन। त्यसैले सम्पूर्ण चालक तथा यात्रु महानुभावलाई यहाँबाट पठाउन सकिँदैन।
कृपया काठमाडौं फर्किनुहोस् र सुरक्षित रहनुहोस्,” प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङ र तनहुँतर्फ जाने जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि नै गाडी चलाउन रोक लगाइएको छ। बिहीबार राति करिब २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।


































