काठमाडौँ । राष्ट्रिय सभाको १९औँ अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्नेछ। नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद् भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर क्षतिग्रस्त भएपछि यस पटकको अधिवेशन सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सञ्चालन गरिने भएको छ।
अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए।
संघीय संसद् सचिवालयका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा आज (आइतबार) बिहान ११ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन्। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।
यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनका लागि आवश्यक तयारीसमेत अघि बढाएको जनाएको छ। आयोगका अनुसार एक जना राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभाको निर्वाचन प्रक्रिया अघि बढिरहेको र राष्ट्रियसभामा समेत नयाँ सदस्यहरू चयन भएर आउने चरणमा रहेकोले यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।
































