काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई लक्षित गर्दै बजारमा इन्धन अभावको हल्ला नचलाउन र पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण प्रणाली नियमित र व्यवस्थित रूपमा सञ्चालन भइरहेकाले कृत्रिम अभाव सिर्जना हुने कुनै आधार नभएको स्पष्ट पारेको हो।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार जारी गरेको सूचनामार्फत पाइपलाइन प्रणाली तथा ढुवानी सञ्जालमार्फत इन्धन आपूर्ति निरन्तर भइरहेको जानकारी दिएका छन्। उनका अनुसार निर्वाचन अवधिभर पनि आवश्यक परिमाणमा इन्धन आयात हुने सुनिश्चित गरिएको छ र देशभरका डिपो तथा पेट्रोल पम्पमा आपूर्ति व्यवस्थापन सुदृढ पारिएको छ।
निगमले विगतमा विभिन्न समयमा हल्लाका कारण बजारमा अनावश्यक भीडभाड र भण्डारण प्रवृत्ति देखिँदा अस्थायी अभावजस्तो अवस्था सिर्जना भएको स्मरण गराउँदै यस्ता गतिविधिले आपूर्ति शृंखलामा दबाब सिर्जना गर्ने जनाएको छ। “उपभोक्ताले आत्तिएर आवश्यकता भन्दा बढी इन्धन खरिद गर्दा वास्तविक अभाव नभए पनि वितरणमा असन्तुलन आउन सक्छ,” सूचनामा उल्लेख गरिएको छ।
विशेषगरी जेरी क्यान, ड्रम वा अन्य असुरक्षित भाँडामा इन्धन भण्डारण गर्दा आगलागी तथा विस्फोट जस्ता गम्भीर जोखिम बढ्ने चेतावनी दिँदै निगमले यस्ता कार्य नगर्न आग्रह गरेको छ। घरायसी तथा व्यवसायिक प्रयोजनका लागि ठूलो परिमाणमा इन्धन सञ्चय गर्दा जनधनको क्षति हुन सक्ने सम्भावना औंल्याइएको छ।
निगमले सुरक्षा निकायसँगको समन्वयमा सम्भावित आगजनीजन्य दुर्घटना न्यूनीकरणका लागि सतर्कता बढाइएको पनि जनाएको छ। आपूर्ति व्यवस्थापन, अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाउँदै बजार सन्तुलन कायम राख्न आवश्यक तयारी गरिएको जानकारी दिइएको छ।
निगमले उपभोक्तालाई आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न अनुरोध गर्दै जिम्मेवार उपभोग र सचेत व्यवहारबाट बजार सन्तुलन कायम गर्न सबैको सहयोग अपरिहार्य रहेको स्पष्ट पारेको छ। निर्वाचन जस्तो संवेदनशील समयमा अफवाह फैलाउन नहुने र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरिएको छ।































