काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म देशको विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँको नजिक पुगेको छ। असोज मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चिति: २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेकोमा असोज मसान्तसम्म ११.३% वृद्धि भई २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकमा सञ्चिति: असारमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा असोजमा १०.५% वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ। वाणिज्य बैंक तथा वित्तीय संस्थामा सञ्चिति: असारमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा असोजमा १८.७% वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड पुगेको छ। त्यस्तै, कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा २४% रहेको छ।
आयात धान्ने क्षमता
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा रहेको विदेशी मुद्रा सञ्चितिले चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको वस्तु आयात १९.९ महिना र वस्तु तथा सेवा आयात १६.४ महिना धान्न पर्याप्त छ। २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको:
कुल गार्हस्थ्य उत्पादनसँग अनुपात: ४८.८%
कुल आयातसँग अनुपात: १३६.६%
विस्तृत मुद्राप्रदायसँग अनुपात: ३६.८%
असार मसान्तमा यी अनुपातहरू क्रमशः ४३.८%, १२८.१% र ३४.१% रहेका थिए।

































