काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्बन्धी वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिन लाग्दासमेत कम्पनीले अहिले आएर विगत आवको विवरण सार्वजनिक गरेको हो।
वित्तीय विवरण अनुसार कम्पनीले गत आवको असार मसान्तसम्म १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको १ अर्ब १३ करोड १६ लाख रुपैयाँ खुद नाफाभन्दा न्यून हो। खुद बीमाशुल्क आर्जनमा भने वृद्धि देखिएको छ।
कम्पनीको कुल आम्दानी पनि वृद्धि भई अघिल्लो आवको ११ अर्ब २८ करोड ५१ लाख रुपैयाँबाट बढेर गत आवमा १२ अर्ब ९० करोड ९१ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा कुल खर्च समेत ९ अर्ब ६६ करोड ८४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।
हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ। स्पेशल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ तथा जगेडा कोषमा ९३ करोड ३७ लाख रुपैयाँ सञ्चिति रहेको कम्पनीले जनाएको छ।
खुद नाफामा कमी आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) अघिल्लो आवको ८.४३ रुपैयाँबाट घटेर ७.७१ रुपैयाँमा झरेको छ। त्यसैगरी प्रतिसेयर नेटवर्थ भने १५२.९४ रुपैयाँमा कायम भएको छ।

































