काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षका पहिलो तीन महिनामा १४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले वृद्धि भएको हो।
महाविपत्ति कोषदेखि रिटेन्ड अर्निङ्स र इक्विटीसम्म कम्पनीका कोषीय सूचकहरू सकारात्मक दिशामा देखिएका छन्।
https://www.youtube.com/watch?v=SLgDTIDJpeY
कम्पनीको जीवन बीमा कोषमा उल्लेखनीय वृद्धि भएको छ। चालु वर्षको असोजसम्म जीवन बीमा कोष ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको यही अवधिको ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँभन्दा २४.७२ प्रतिशतले बढी हो।
बीमाशुल्क आर्जनतर्फ पनि कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको छ। समीक्षा अवधिसम्म कुल बीमाशुल्क ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.३९ प्रतिशत वृद्धि हो। त्यस्तै, खुद बीमाशुल्क आर्जन ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.९८ प्रतिशत वृद्धि हो। यी सूचकहरूले कम्पनीले बजारमा आफ्नो प्रभावकारी उपस्थितिलाई कायम राख्दै बीमा सेवा विस्तार गर्न सफल भएको देखाउँछन्।
वित्तीय सूचकहरू अनुसार कम्पनीको शेयरपुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ पुगेको छ। केही घटेर १०.३० रुपैयाँमा कायम भएको वार्षिकीकृत ईपीएस अझै स्थिर स्तरमा रहेको छ, भने पीई रेसियो ५६.११ गुणा र प्रतिशेयर नेटवर्थ १३१.५४ रुपैयाँ रहेको छ। समग्रमा, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कोष, बीमाशुल्क आर्जन, कोषीय संरचना र नाफा–सबै क्षेत्रमा सकारात्मक वृद्धि हासिल गर्दै स्थिर प्रगतिमा रहेको देखिन्छ।
































