काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मा सरकारले निर्धारित भन्सार राजस्वको ८१.७ प्रतिशत मात्र संकलन गर्न सकेको छ। भन्सार विभागका अनुसार पहिलो चौमासिकमा सबैभन्दा कम राजस्व कात्तिक महिनामा संकलन भएको छ, जसले समग्र राजस्व लक्ष्य पूरा हुन प्रभावित गरेको देखिन्छ।
कात्तिक महिनामा सरकारले ५० अर्ब ५२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो, तर संकलन ३६ अर्ब ७० करोड मात्र भएको छ, जुन लक्ष्यको ७२.६ प्रतिशत हो। साउन–कात्तिकसम्म कुल लक्ष्य १ खर्ब ९४ अर्ब २८ करोड रुपैयाँ रहेकोमा संकलन १ खर्ब ५८ अर्ब ७६ करोड रुपैयाँ मात्रै भएको छ। यस वर्ष कुनै महिनामा भन्सार राजस्व लक्ष्यको ९० प्रतिशतभन्दा बढी उठेको छैन।
महिनावार विवरणअनुसार, साउनमा ४५ अर्ब ७१ करोडको लक्ष्य राखिएकोमा ३७ अर्ब ९ करोड मात्र संकलन भयो। भदौमा ४८ अर्ब ५० करोडको लक्ष्य रहेकोमा ४१ अर्ब ६ करोड, असोजमा ४९ अर्ब ५५ करोडको लक्ष्यमा ४३ अर्ब ९१ करोड मात्र संकलन भएको विभागले जनाएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष साउनमा ६.९ प्रतिशत, भदौमा ३.७ प्रतिशत, असोजमा १३.१ प्रतिशत र कात्तिकमा ८.३ प्रतिशत बढी राजस्व संकलन भएको तथ्यांक विभागसँग छ।






































