काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले विप्रेषण आयमा उल्लेखनीय वृद्धि दर्ता गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा विप्रेषण ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि दर पछिल्ला केही वर्षको तुलनामा उच्च मानिएको छ।
साउनमा विप्रेषण २९.९ प्रतिशत वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड, र भदौमा वृद्धि दर झन् उकासिएर ३३.१ प्रतिशत पुगेको थियो। गत वर्षको सोही अवधि भने वृद्धि ११.९ प्रतिशत मात्र थियो, जसले यस वर्षको विप्रेषण प्रवाह निकै सशक्त रहेको संकेत गरेको छ।
चालु खाता र शोधनान्तर दुवै बचतमा
विप्रेषण वृद्धिको प्रत्यक्ष प्रभावले चालु खाता तथा शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको राष्ट्र बैंकले जनाएको छ। पहिलो त्रैमासमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ। त्यस्तै, शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँको अधिशेषमा पुगेको छ। उच्च प्रेषण प्रवाहले देशको बाह्य क्षेत्रीय स्थायित्वलाई छोटो अवधिमा मजबुत बनाएको मूल्यांकन गरिएको छ।
विदेश व्यापारमा घाटा विस्तार
विप्रेषण र बाह्य क्षेत्रका अन्य सूचक सकारात्मक देखिए पनि विदेश व्यापार घाटा भने झन् बढेको छ। पहिलो तीन महिनामा कुल व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, तर आयातमा १९.८ प्रतिशतको वृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ पुगेकाले समग्र व्यापार सन्तुलन नकारात्मक बनेको आकडामा उल्लेख छ ।

































