काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सेयर बजारको कारोबार उल्लेख्य रूपमा खुम्चिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को क्युमुलेटिभ समरी रिपोर्टअनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा समग्र कारोबार रकम ३८.६१ प्रतिशतले घटेको हो।
गत आवको पाँच महिनामा १० खर्ब १९ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा चालु आवमा यो रकम घटेर ६ खर्ब २६ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ।
समूहगत विश्लेषण गर्दा अधिकांश सेक्टरको कारोबारमा दोहोरो अंकको गिरावट आएको छ। वित्त समूहको कारोबार सबैभन्दा बढी प्रभावित भएको छ। यस समूहको कारोबार ८६.५२ प्रतिशतले घटेको छ। गत आवमा १ खर्ब २१ अर्ब ८१ करोड ८५ लाख रुपैयाँको कारोबार भएकोमा चालु आवमा मात्र १६ अर्ब ४२ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ।
बीमा र व्यापार समूहमा तीव्र गिरावट
निर्जीवन बीमा समूहको कारोबार रकम चालु आवमा ७०.३१ प्रतिशतले घटेको छ। गत आवमा ४६ अर्ब ५६ करोड ७५ लाख रुपैयाँको कारोबार भएको यस समूहमा चालु आवमा १३ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ मात्र कारोबार भएको छ। यस्तै व्यापार समूहको कारोबार ६९.९३ प्रतिशतले घटेको छ। गत आवमा ३ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा चालु आवमा यो १ अर्ब १५ करोड रुपैयाँमा झरेको छ।
जीवन बीमा र बैंकिङ सेक्टर पनि दबाबमा
जीवन बीमा समूहको कारोबारमा ५२.७९ प्रतिशतको गिरावट आएको छ। गत आवमा ५७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको यस समूहमा चालु आवमा २६ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ।
वाणिज्य बैंक समूहको कारोबार पनि ५२.१८ प्रतिशतले घटेको छ। गत आवमा १ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएकोमा चालु आवमा ५५ अर्ब ८८ करोड रुपैयाँ मात्र कारोबार भएको छ। विकास बैंक, लगानी, होटल तथा पर्यटन, लघुवित्त, जलविद्युत र म्याचुअल फण्ड समूहको कारोबारमा पनि उल्लेख्य गिरावट आएको छ।
यद्यपि सबै क्षेत्र नकारात्मक छैनन्। चालु आवमा ऋणपत्र समूहको कारोबार ९४.३१ प्रतिशतले बढेको छ। यस्तै अन्य समूहको कारोबार २०.३८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको कारोबार २.०३ प्रतिशतले वृद्धि भएको छ। कारोबारसँगै कुल बजार पूँजीकरणमा पनि गिरावट आएको छ। चालु आवको पाँच महिनामा बजार पूँजीकरण १.८२ प्रतिशतले घटेर ४३ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ थियो।
मंसिरमा कारोबारले दियो आशा
लामो समयदेखि सुस्त रहेको बजारले मंसिर महिनामा भने सुधारको संकेत देखाएको छ। कात्तिकको तुलनामा मंसिरमा कारोबार रकम २७.२४ प्रतिशतले बढेको छ। कात्तिकमा ७७ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा मंसिरमा ९८ अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
मंसिरमा सबै समूहको कारोबार बढेको देखिएको छ। जीवन बीमा समूहको कारोबार सबैभन्दा बढी १०९.१२ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, व्यापार, विकास बैंक, लघुवित्त र जलविद्युत समूहमा पनि उल्लेख्य सुधार आएको छ। वाणिज्य बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लगानी समूहको कारोबारसमेत मंसिरमा उकालो लागेको छ।
बैंक तथा समूहगत बजार पूँजीकरणको अवस्था
पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरूको कुल बजार पूँजीकरण १० खर्ब ४१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। यस समूहमा नबिल बैंक १ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँसहित शीर्षस्थानमा छ भने एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
विकास बैंक समूहको बजार पूँजीकरण १ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहँदा गरिमा विकास बैंक र साइन रेसुङ्गा विकास बैंक पछि परेका छन्। जलविद्युत समूहको बजार पूँजीकरण ६ खर्ब ६५ अर्ब रुपैयाँ नाघेको छ भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार र लघुवित्त समूहमा पनि ठूलो पूँजीकरण कायम रहेको छ।

































