काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट भएको सम्पूर्ण क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्पूर्ण क्षतिको प्रतिवेदन तयार गर्न आदेश दिँदै भनिन्, “आन्दोलनका क्रममा सार्वजनिक संरचना र सम्पत्तिमा पुगेको क्षतिको अद्यावधिक विवरण शीघ्र संकलन गरी एकीकृत प्रतिवेदन तयार गर्नुपर्छ।”
उनले समीक्षा अवधिसम्म कार्यालय तथा मातहतका निकायहरूको खर्च दर सन्तोषजनक नदेखिएको उल्लेख गर्दै बाँकी अवधिमा सबै निकायका प्रमुखहरूलाई कार्यसम्पादनमा प्राथमिकता र तीव्रता दिन निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “समीक्षा अवधिमा तोडफोड र आगजनीका कारण कतिपय कार्य प्रभावित भएका छन्। अब बाँकी अवधिमा सेवाग्राहीमैत्री र जनआकांक्षाअनुरूप सेवा प्रवाह गर्दै निर्धारित लक्ष्य हासिल गर्नुपर्ने छ।”
उनले विद्युतीय खरिद प्रणाली सार्वजनिक निकायको संवेदनशील कार्यसँग सम्बन्धित भएकाले यसको सर्भर स्तरोन्नतिका लागि आवश्यक उपकरणहरू समयमै खरिद गर्नुपर्नेमा जोड दिइन्। साथै, अर्थ मन्त्रालयमा राय मागिएका विषयहरूमा आवश्यक सहजीकरण गरी समयमै राय उपलब्ध गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “राष्ट्रसेवक कर्मचारीहरूले तोकिएका जिम्मेवारी समयमै पूरा गरी बाँकी अवधिमा निर्धारित लक्ष्य हासिल गर्ने गरी कार्य गर्नुपर्छ।”
































