काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको बैठकमा प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिने घोषणा गरेका छन्। उनले गाजामा भइरहेको युद्धको कुनै औचित्य नभएको समेत उल्लेख गर्दै शान्ति स्थापनाको समय आएको बताए।
यसैबीच, बेल्जियम, लक्जमबर्ग, माल्टा, अन्डोरा र सान मरिनोले पनि प्यालेस्टाइनलाई राज्यको मान्यता दिने योजना बनाएका छन्। बेलायतले भने अघिल्लो दिन नै प्यालेस्टाइनलाई राज्यको मान्यता दिएको छ।
न्यूयोर्कमा जारी बैठकमा फ्रान्स र साउदी अरेबिया इजरायल–प्यालेस्टाइन दुई राष्ट्र समाधानका लागि योजनामा काम गरिरहेको बीबीसीले जनाएको छ।
तर इजरायलले यस्ता कदमले हमासलाई थप हौसला दिइरहेको भन्दै विरोध जनाएको छ। सन् २०२३ को ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेयता इजरायलले गाजामा निरन्तर आक्रमण जारी राखेको छ जसमा हालसम्म ६५ हजार जनाको मृत्यु भइसकेको छ।


































