काठमाडौँ। ललितपुरमा सञ्चालनमा रहेको गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीसँग सम्बन्धित चार जना पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ताल्छिखेलस्थित उक्त सहकारीका अध्यक्ष इमानसिंह राईसहित चार जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरूमा सहकारीका सह–प्रमुख कार्यकारी अधिकृत (सीइओ)लालबहादुर क्षेत्री र अबिनकुमार राई तथा लेखा समिति सदस्य कर्णबहादुर राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई चैत १८ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको हो।
हाल ललितपुर प्रहरीले चार दिनको म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।
उक्त सहकारीका पदाधिकारीहरूविरुद्ध बचतकर्ताको करिब ४ अर्ब ५ करोड ६० लाख ६८ हजार रुपैयाँ अपचलन गरेको आरोप लागेको छ। सो सहकारीमा १० हजार ५९८ जना बचतकर्ता आबद्ध रहेका छन्।
































