काठमाडौं । बझाङ क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्य उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
जारी मत गणनामा अहिलेसम्म कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ९७७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् ।
उनीहरूबीच २ सय ८४ को मतान्तर रहेको छ ।
अहिलेसम्म बझाङको जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छबिसपाथिभेरा, थलारा गाउँपालिका–९, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका १, २, ३, ४, ५ र ६ को मत गणना भइसकेको छ ।
मतगणना हुन अब मष्टा ७, तलकोट र साइपाल गाउँपालिकाको बाँकी छ । गत शनिबार भएको उपनिर्वाचनमा कुल ६१ हजार ७४८ मतदातामध्ये ३० हजार ३ सय २८ जना मतदानमा सहभागी भएका थिए । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।































