काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बबई गाउँपालिकाका दुई मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन। स्थानीय बासिन्दाले निर्वाचन बहिष्कार गरेपछि दिउँसो १ बजेसम्म पनि ती केन्द्रमा मतदान प्रक्रिया सुरु हुन नसकेको हो।
बबई गाउँपालिका–७ मलईस्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा एकजना पनि मतदाता मतदानका लागि उपस्थित नभएपछि मतदान सुरु हुन नसकेको दाङ–३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले जानकारी दिए।
उनका अनुसार निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेर कर्मचारी तथा सुरक्षाकर्मी बिहानैदेखि मतदान केन्द्रमा खटिएका छन्।
स्थानीय बासिन्दाले करिब एक महिना अघिदेखि नै आफ्नो बस्ती स्थानान्तरणको माग पूरा नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका थिए। राज्य पक्षबाट माग सम्बोधन नभएको भन्दै उनीहरूले चुनावमा सहभागी नहुने अडान लिएका हुन्।
स्थानीयको माग अनुसार बस्ती स्थानान्तरणसम्बन्धी समस्या समाधान नभएसम्म मतदानमा सहभागी नहुने भन्दै उनीहरूले सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन्। यसका कारण ती मतदान केन्द्रमा निर्वाचन प्रक्रिया अन्य स्थानको तुलनामा प्रभावित बनेको छ।
निर्वाचन अधिकारीका अनुसार अवस्था सामान्य बनाउन स्थानीय नेतृत्वसँग निरन्तर संवाद भइरहेको छ। सहमति जुटेमा मतदान प्रक्रिया सुरु गरिने जनाइएको छ। अहिले भने मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी तयारी अवस्थामा रहे पनि मतदाता नआएपछि मतदान कार्य अवरुद्ध जस्तै बनेको छ।































