काठमाडौँ । अविरल वर्षापछि खसेको पहिरोले बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीस्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान १० बजे खसेको पहिरोका कारण सडकमार्ग रोकिँदा सवारीसाधनसहित पैदल यात्रु पनि आवतजावत गर्न पाएका छैनन्।
पहिरो खसेको थाहा पाएपछि प्रहरी चौकी छिस्तीका हबल्दार यादवहादुर कार्कीको नेतृत्वमा टोली खटिएर सडक खुलाउने प्रयास गरेको थियो। तर तत्काल सम्भव नदेखिएपछि प्रहरीले स्थानीय तहसँग सहकार्य गरेको छ।
नगरउपप्रमुख हरिहर शर्माले जैमिनी नगरको डोजरसहित कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए। पहिरो गएको स्थान प्रहरी चौकी छिस्तीबाट करिब १०० मिटर उत्तरतर्फ र सदरमुकामदेखि करिब ३६ किलोमिटर दक्षिणतर्फ पर्छ।






































