काठमाडौँ । राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
यसैबीच आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका उनले दमकमा निर्माण गरिएको भ्यूटावर र सभागृहलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने घोषणा पनि गरेका छन।्
सोमबार सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा दमक सभागृह, भ्यूटावर लगायत पूर्वाधारलाई नागरिकले प्रत्यक्ष लाभ लिने गरी उपयोगमा ल्याइने उल्लेख छ।
उनले संविधानले निर्दिष्ट गरेका जिम्मेवारीहरू इमान्दारीपूर्वक निर्वाह गर्ने, आवश्यक कानुन निर्माण तथा संशोधनमार्फत कानुनी प्रणालीलाई स्पष्ट र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संसद्मा बेथिति र भ्रष्टाचारविरुद्ध सशक्त रूपमा उभिने तथा झापा–५ का विकास एजेन्डालाई राष्ट्रिय नीति र बजेटमा प्राथमिकताका साथ उठाउने उनको भनाइ छ।
नेपाल सरकार र जेनजी बीच भएका सम्झौताहरूको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्ने उनको अर्को प्रतिबद्धता छ । साथै स्थानीय र प्रदेश सरकारका योजनालाई संघीय तहबाट छिटो र परिणाममुखी रूपमा अघि बढाउने वातावरण तयार पार्ने उनको योजना छ।
संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यवहारिक रुपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने पनि उनको प्रतिवद्धता छ ।
‘राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन । सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु । विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।’ घोषणापत्रमा उल्लेख छ।
झापा–५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्ने पनि उनको प्रतिबद्धता छ। राजनीतिलाई पेशाभन्दा सेवा बनाउने र मतदाताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने बालेनको भनाइ छ।
शिक्षा क्षेत्रमा गरिब तथा विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, सीपमूलक कार्यक्रम लागू गर्ने, गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्र बनाउने तथा कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने योजना उनले अघि सारेका छन्।
दमक बहुप्राविधिक शिक्षालय भवन निर्माण गरी सञ्चालनमा ल्याउने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा र प्रयोगशाला विस्तार गर्ने तथा विद्यालय छाड्ने दर शून्यमा झार्ने लक्ष्य पनि उनको घोषणापत्रमा समेटिएको छ।
त्यस्तै, दमक–१० स्थित साइन्स पार्कलाई व्यवस्थित गर्ने, विराट बुद्ध पार्क निर्माण सम्पन्न गर्ने, रतुवा र मावा खोलामा तटबन्ध निर्माण गरी कटान–डुबान नियन्त्रण गर्ने योजना उल्लेख छन्। दमकलाई पूर्वी नेपालको सूचना प्रविधि केन्द्रका रूपमा विकास गर्ने, सिँचाइ आयोजना विस्तार गर्ने, श्रम बैंक अवधारणा लागू गर्ने, कृषि भण्डारण केन्द्र स्थापना गर्ने तथा दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
यसका साथै झापा केन्द्रीत बालेनका अन्य प्रतिबद्धताहरु यस्ता छन् । :
- दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।
- विराट बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याइनेछ
-रतुवा खोला, मावा खोला, तथा सहायक सोला, सहरेको तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गरिनेछ ।
- दमकलाई पूर्वी नेपालको “आइ। टी। हव’ को रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गरिनेछ ।
- कन्काई–रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट सिँचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाइनेछ ।
- प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागु गरिनेछ ।
- कोल्ड स्टोर तथा ड्रायर एकै स्थानमा रहने गरि “गौरादह कृषि भण्डारण केन्द्र“ को स्थापना गरिनेछ ।
- गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान हवका रुपमा विकास गरिनेछ ।
- दमक गोल्डकपलाई व्यवसायिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी झापा–५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पुन्याइनेछ ।
- दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गरिनेछ ।
- गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइनेछ ।































