काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।आइतबार साँझ बसेको तयारी बैठकले सो नाममा निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकले तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको छ। पार्टीमा अन्य सदस्यहरूको नाम टुंग्याउने कार्य अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ रहने सहमति भएको छ, जसले उज्यालो, उर्जा र पारदर्शिताको प्रतीकको रूपमा दलको मूल विचारलाई प्रतिनिधित्व गर्ने बताइएको छ।
यसअघि पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने प्रारम्भिक तयारी भए पनि, पछिल्लो छलफलमा ‘उज्यालो नेपाल’ नाम बढी सान्दर्भिक र जनसुलभ हुने ठहर गर्दै सो नाममै आयोगमा दर्ता गर्ने निष्कर्ष निकालिएको हो।
हालका लागि पार्टीमा कुनै पदाधिकारी रहने छैन। आगामी संगठन विस्तार र नीति निर्माण प्रक्रियामा क्रमशः नेतृत्व तह पुनःव्यवस्थित गर्ने तयारी भएको घिसिङनिकट स्रोतले जनाएको छ।
पार्टी दर्ता प्रक्रिया सुरु भएपछि ‘उज्यालो नेपाल’ ले ऊर्जा, पारदर्शिता, सुशासन र विकासमुखी राजनीतिक विकल्पका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको बताइएको छ।


































