काठमाडौं । बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा गरेको मुद्दति निक्षेप लगानी चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मा १०.२९ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरूले साउन मसान्तसम्म ६ खर्ब ७१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेका छन्।
अघिल्लो वर्ष (२०८१/८२) को सोही अवधिमा उक्त लगानी ६ खर्ब ८ अर्ब ८७ करोड ३ लाख रुपैयाँ मात्र थियो। एक वर्षको अवधिमा बीमा कम्पनीको लगानीमा सवा १० प्रतिशत वृद्धि भएको हो। यसै अवधिसम्म कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकमा रहेको लगानी भने ३.६२ प्रतिशतले घटेको छ।
गत वर्ष साउनसम्म १ खर्ब ८४ अर्ब १६ करोड ९८ लाख रुपैयाँ रहेकोमा चालु वर्ष घटेर १ खर्ब ७७ अर्ब ५० करोड ८ लाख रुपैयाँमा झरेको छ। यता, नागरिक लगानी कोषको बैंकमा लगानी ५.२८ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब ८८ करोड २६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो १ खर्ब २३ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ थियो।
त्यस्तै, व्यक्तिगत निक्षेपको आकार पनि उल्लेख्य रूपमा बढेको देखिन्छ। गत वर्ष साउनसम्म व्यक्तिगत निक्षेप ४० खर्ब ३४ अर्ब २ करोड ६५ लाख रुपैयाँ रहेकोमा चालु वर्ष बढेर ४५ खर्ब ८० अर्ब ५७ करोड ९ लाख रुपैयाँ पुगेको छ, जसमा १३.५५ प्रतिशतको वृद्धि देखिन्छ।






































