काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो एक महिनामा कुल ६ वटा कम्पनीलाई साधारण सेयर (एफपीओसहित) जारी गर्ने अनुमति दिएको छ। यसमध्येमा ५ कम्पनीले आइपीओ र एउटा कम्पनीले एफपीओ बिक्री गर्ने स्वीकृति पाएका छन्। केही समयअघि बोर्डका कर्मचारीहरूले गरेको आन्दोलनका कारण दुई महिनासम्म आइपीओ प्रक्रिया रोकिएको थियो।
आन्दोलनका कारण काम अवरुद्ध हुँदा स्वीकृति वितरणमा ढिलाइ भए पनि अहिले बोर्डले लगातार रूपमा सेयर इश्यु अनुमति दिँदै गएको छ।
त्यस्तै, बोर्डबाट सोलु हाइड्रोपावर, सालपा विकास बैंक, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी र रिलायन्स स्पिनिङ मिल्सले पनि आइपीओ जारी गर्ने अनुमति पाएका छन्। सोलु हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २ करोड कित्ता सेयर बिक्री गर्नेछ। सालपा विकास बैंकले १७ लाख २३ हजार ८८० कित्ता, भुजुङ्ग हाइड्रोपावरले २० लाख कित्ता, रिज लाइन इनर्जीले २६ लाख ७ हजार कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ११ लाख ५५ हजार ९६० कित्ता सेयर जारी गर्नेछ। यसरी हालसालै स्वीकृति पाएका ६ कम्पनीले गरी २ करोड ७९ लाख ५३ हजार कित्ता सेयर बाजारमा ल्याउन अनुमति पाएका छन्, जसको वितरण स्थानीय, कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणलगायतका समूहमा हुनेछ।
आइपीओ स्वीकृति पाएका कम्पनीहरूमध्ये सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँड गरिसकेको छ र अब सर्वसाधारणका लागि आइपीओ खोल्ने तयारीमा छ। भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी र सालपा विकास बैंकले भने पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र स्थानीयहरूका लागि सेयर खुला गर्न बाँकी छ। त्यसपछि सर्वसाधारणका लागि आइपीओ खुला हुनेछ। यता, रिलायन्स स्पिनिङ मिल्सले हाल वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर आवेदन खुला गरिरहेको छ।

































