काठमाडौं : धितोपत्र बजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा (शेयर धितो कर्जा) उल्लेख्य रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांक अनुसार मंसिर मसान्तसम्म यस्तो कर्जाको कुल आकार एक खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ पुगेको छ।
गत वर्षको साउनमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको शेयर धितो कर्जा डेढ वर्षको अवधिमा झण्डै ६४ प्रतिशतले वृद्धि भएको हो। राष्ट्र बैंकका अनुसार कुल प्रवाहित कर्जामध्ये एक करोड रुपैयाँभन्दा माथिको कर्जा सबैभन्दा ठूलो हिस्सामा छ। यो वर्गको कर्जा एक खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ पुगेको छ, जुन कुल कर्जाको करिब ७० प्रतिशत हो।
त्यसैगरी ५० लाखदेखि एक करोड रुपैयाँसम्मको शेयर धितो कर्जा १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ। पछिल्लो पाँच महिनामा यो समूहको कर्जा ११.७ प्रतिशतले वृद्धि भएको छ, जुन सबै वर्गमध्ये सबैभन्दा उच्च हो। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा प्रवाह १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ पुगेको छ। यस समूहमा पाँच महिनाको अवधिमा ७१ करोड ५८ लाख रुपैयाँ कर्जा थपिएको राष्ट्र बैंकले जनाएको छ।
सबैभन्दा साना लगानीकर्ता, अर्थात् २५ लाख रुपैयाँभन्दा कम कर्जा लिनेहरूको मौज्दात ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। यो समूहमा ६.७ प्रतिशतको वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै शेयर धितो कर्जा ८ अर्ब ८ करोड ६० लाख रुपैयाँले वृद्धि भएको छ, जुन ५.७ प्रतिशत हो। यद्यपि, गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १९.८ प्रतिशत अर्थात् १७ अर्ब ८५ करोड २० लाख रुपैयाँले बढेको थियो।
































