काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले सुधार देखाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.८७ अंकले बढ्दै २६३३.७६ बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन भारी गिरावट आएको बजार आज हरियाली देखिएपछि लगानीकर्तामा केही राहत महसुस भएको छ। बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। बुधबार बजारमा सूचीकृत ३४२ कम्पनीका एक करोड १९ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
कारोबारको क्रममा केही कम्पनीका सेयरमा उल्लेखनीय उत्साह देखिएको छ। यस दिन एसवाइ प्यानल नेपाल र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले बजारको समग्र मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको देखिन्छ। समग्रमा, पछिल्ला दिनको गिरावटपछि बजारले सीमित सुधारको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
































