काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारले सबै क्षेत्रमा ठिक परिणाम आउने गरी काम गर्ने बताएका छन् ।
मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले कठिनाइमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने भन्दै आश्वस्त पारे ।
ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले सरकारले बाढी,पहिरो लगायतको क्षतिलाई गम्भीरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए ।
साथै नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुने गरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको उनको जिकिर थियो ।
सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस् भन्नका लागि । यस चिजमा मेरो ध्यान गएको छ । प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्विकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनुका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ । र, मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरूका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस् । प्रधानमन्त्री ओलीले भने
































