काठमाडौं । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन आज नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने कार्यदलको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कांग्रेससहितको गठबन्धन तोडेर पुराना सबै मन्त्रीहरूलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले विना विभागीय मन्त्रीकारुपमा शपथग्रहण गरेका छन् ।
मन्त्रीहरूको बाँडफाँडका लागि बनाइएको कार्यदलमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।
अर्थमन्त्रीका रूपमा वर्षमान पुन कि विष्णु पौडेल ? यस्तो छ सम्भावना
सत्ता समिकरण फेरिएसँगै अर्थमन्त्री को बन्ला भन्ने आम मानिसको चासोको विषय बनेको छ । यतिबेला विष्णु पौडेल र वर्षमान पुनको नाम चर्चामा छ।
धेरैजसो लगानीकर्ताको चासोको रुपमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेललाई आकलन गरिरहेका छन् तर पछिल्लो समय देखिदै गएको राजनितीक घटनाक्रम अनुसार वर्षमान पुन (अनन्त) अर्थमन्त्रीमा आउन सक्ने सम्भावना चुलिदै गएको छ ।
जनयुद्धकालमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर तथा सुप्रिमोका विश्वासपात्र मानिएका पुनलाई यस पटक अर्थमन्त्री बनाउन लागेका स्रोतले बताएको छ । मन्त्रालय भागबण्डा र को को मन्त्री बन्ने भन्ने विषयमा अन्तिम टुंगो लागि नसकेकोले अहिले नै अन्तिम निर्णय मान्नु भने हुँदैन तर अर्थमन्त्रीको रुपमा एमालेबाट जान सक्ने देखिदैन् एक एमाले नेताले जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी गराएका हुन् । गिरी एमालेबाट, तामाङ माओवादीबाट र अर्याल रास्वपाबाट मन्त्री बन्न लागेका हुन् । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् ।

































