काठमाडौँ । मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक भएका छन्। शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्री खरेलका अनुसार, बैठकले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा सार्ने निर्णय गरेको छ।
त्यसैगरी, अर्को व्यवस्था नभएसम्म नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्न जनकराज शर्मालाई जिम्मेवारी तोक्ने, सहसचिव डा. रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्ने निर्णय समेत भएको उनले जानकारी दिए।







































